Tuesday, February 17, 2015

पित्त थैलीको शल्यक्रिया गर्दा कलेजो काटियो:-

झापाः झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक
अस्पतालमा सोमबार बेलुका एकजना विरामीको पित्त
थैलीको शल्यक्रिया गर्दा कलेजो काटिएको आशंकामा विराम
मंगलबार बेलुका काठमाण्डौ रेफर गरिएको छ।
पित्तथैलीको अप्रेशन गरेका झापा सुरुङ्गास्थित कन्काई
उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष लिलाप्रसाद
भेट्वालको अवस्था गम्भीर बनेपछि मंगलबार बेलुका पाँच
बजे सेनाको हेलिकप्टरबाट काठमाण्डौको वीर अस्पताल
लगिएको लिलाका भाइ माधवले जानकारी दिए।

लिलाको शल्यक्रिया सोमबार बेलुका ५: ३० बजे सर्जन रामबाबु
खडकाले पेट चिरेर गरेका थिए। उक्त अस्पतालमा लेप्रोस्कोपिक
सर्जरीको व्यवस्था नभएकाले पेट चिरेर
शल्यक्रिया गरेको डा. खडकाले बताए। परिवारका सदस्यले
शल्यक्रियामा अस्पताल र शल्यक्रिया गर्ने चिकित्सकको चरम
लापरवाही भएको दाबी गरेका छन्।पित्त
थैलीको शल्यक्रिया गर्दा कलेजो काटिएको आरोप
परिवारको छ।
लिलाका भाइ माधवले भने, ‘सोमबार
बेलुका गरेको शल्यक्रियाका बारेमा मंगलबार विहान मात्र
हामीलाई अस्पतालले जानकारी दियो । के
भएको हो अस्पतालले अहिलेसम्म गोप्य राखेको छ।अस्पतालबाट
गल्ती भएको हो भने
गल्ती स्वीकार गर्नुपर्छ।’
शल्यक्रिया सकेर पनि मंगलबार विहानसम्म काटेको घाउबाट रगत
बग्न नछाडेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि विरामी लैजान
भनेको चिकित्सक खडकाले बताए। उनले भने, ‘शल्यक्रिया गर्दा भित्र
कहीँ न कहीँ चोट लागेको हुनुपर्छ ।
नत्र रगत बगिरहँदैन । पित्त थैली र कलेजो संगै
टाँसिएर बसेको हुनाले कलेजोमा घाउ लागेको पनि हुनसक्छ ।’
डा. खडकाका अनुसार
शल्यक्रियापछि घाउमा झुण्ड्याइएको व्यागमा त्यति रगत नदेखिए
पनि विरामीको शरीरमा रगतको चरम अभाव
देखिन थालेको थियो । उनले भने, ‘रगत अभाव
भएपछि नाडीको गति तीब्र हुन्छ जुन
विरामीमा देखियो।’उनले
विरामीको अवस्था गम्भीर
रहेको स्वीकार गरे । खडकाले भने,
‘समयमा राम्रो सुविधा सम्पन्न अस्पतालमा लगे उपचार संभव छ ।
त्यसैले मैले घोपा लान सल्लाह दिएको हुँ।’
तर विरामीका आफन्तले काठमाण्डौ लाने
भनेपछि सेनाको हेलिकप्टर मगाएर
काठमाण्डौ लगिएको परिवारका सदस्यले बताएका छन्।
काठमाण्डौमा लाग्ने उपचार र हेलिकप्टरको खर्च अस्पतालले
बेहोर्नुपर्ने माग राख्दै विरामीका आफन्तले
अस्पतालमा धर्ना दिएका थिए। अस्पतालले काठमाण्डौमा लाग्ने उपचार
खर्च र हेलिकप्टर भाडा बेहोर्ने बताएपछि तनाव साम्य भएको थियो।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top