Thursday, January 7, 2016

मकवानपुरको भोर्लेनीमा २५ किलोवाट वायु–सौर्य उर्जा उत्पादन

पुस २२, २०७२- मकवानपुरको सुदूरपूर्वमा पर्ने फापरबारीस्थित बागमती कोरीडोरमा २५ किलोवाट वायु र सौर्य उर्जा उतपदन सुरु भएको छ । नेपालीहरुको लगानीमा निर्माण गरिएको यो पहिलो वायु तथा सौर्य मिश्रित आयोजना हो ।
विद्युतको लाइन पुग्ने सम्भावना नभएको फापरबारी गाविस–२ स्थित भोर्लेनीमा विगत ८ महिनादेखि झलमल उज्यालो छाएको छ । घर/घरमा रंगीन टेलिभिजनबाट चलिरहेको छ भने धान मकै पिस्ने मिल पनि विद्युतबाट चलिरहेको छ ।
१२ मिटर अग्ला २ वटा फलामका खम्बामा २ वटा पंखाहरु जडान गरिएका छन् । हावाले पंखा जोडसँग घुमाउदा त्यसकै जोडमा टरवाइन घुम्ने गर्छ । उत्पादित विद्यूतलाई ५५ वटा फलामका पोल गाडेर घर/घरमा विद्युत वितरण गरिएको छ ।
वैकल्पिक उर्जा प्रबन्धन केन्द्र काठमाडौंको मु्ख्य लगानीमा वायुबाट १० किलोवाट र सोलारबाट १५ किलोवाट गरी २५ किलोवाट विद्युत उत्पादन गरिएको हो । १ करोड ३० लाख लागतमा बनाइएको यो परियोजनाले गत जेठदेखि नै १ सय ३१ घरलाई विद्युत् दिँदै आएको छ । आयोजनाका निम्ति वैकल्पिक उर्जा केन्द्रले ८९ लाख, जिविस मकवानपुरले ५ लाख, गाविसले २ लाख रुपैयाँ लगानी गरेको छ भने भोर्लेनीका बासिन्दाले ४ हजार रुपैयाँ प्रतिघर नगद उठाएका थिए ।
मंगलबार जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले यो परियोजनाको उद्घाटन गरे । बागमती कोरीडोरमा हावा व्यापक चल्ने भएकाले भोर्लेनी पारी सिन्धुलीको चिसापानीमा मिश्रित उर्जा आयोजना निर्माण गर्न लागेको पासवानले बताए ।
बेलुका ५ बजेदेखि विहान ९ बजेसम्म नदि किनारमा जोडले हावा चल्ने भएकाले रातभर वायुद्वारा विद्यूत उत्पादन गरिने तथा विहान ९ बजेपछि सोलारबाट उर्जा संकलन हुने भोर्लेनी वायु तथा सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानले बताए । ‘बेलुकादेखि बिहानसम्म हावाद्वारा टर्वाइन चलाइन्छ र दिउँसो सौर्यबाट विद्युत उत्पादन गरिन्छ,’ उनले भने ।
वायु तथा सौर्य उर्जा नियमित रुपमा संचालन र मर्मत सम्भार गर्न अहिले मासिक रुपमा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्म शुल्क उठाउने गरिएको छ भने विद्युत खपतको आधारको शुल्क उठाउने गरेका छन् ।
प्रकाशित: पुस २२, २०७२


http://bit.ly/1RanBdG

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top